
विराटनगर, भदौ २ गते । रौतहटसँग जोडिएको नेपाल-भारत सीमा नजिकै वैद्यनाथपुर क्षेत्रबाट एक सोमालियाली नागरिकलाई भारतीय सुरक्षा निकायले पक्राउ गरेको छ।
भारतको सशस्त्र सीमा बल (एसएसबी) को २०औँ बटालियन, भङ्गहाको टोलीले काफी अली उर्फ हासी अलीलाई सोमबार साँझ नियन्त्रणमा लिएको थियो।
भारतीय बजार घोडासहनबाट बस चढेर वैद्यनाथपुर पुगेका उनी सीमावर्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा देखिएपछि सुरक्षा टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको थियो ।
पक्राउ परेका अलीको साथबाट २५ हजार भारतीय रुपैयाँ नगद, मोबाइल फोन र माइक्रोफोन बरामद भएको सुरक्षा निकायले जनाएको छ। उनको राहदानी तथा अन्य आवश्यक कागजातसमेत जाँच भइरहेको जनाएकाे छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी नेपाल-भारत सीमा हुँदै नेपाल प्रवेश गर्ने प्रयासमा रहेको आशङ्का गरिएको छ।
यद्यपि, उनको नेपाल प्रवेशको वास्तविक उद्देश्यबारे अहिलेसम्म कुनै निष्कर्ष सार्वजनिक गरिएको छैन।
सुरक्षा निकायले अलीसँग आवश्यक सोधपुछ गर्दै उनको यात्रा विवरण, नेपाल प्रवेशको सम्भावित उद्देश्य तथा सीमावर्ती क्षेत्रमा रहेका सम्भावित सम्पर्कबारे अनुसन्धान गरिरहेको जनाएको छ।
विदेशी नागरिक सीमावर्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा भेटिएपछि सुरक्षा निकायले घटनालाई संवेदनशील रूपमा लिएको छ। घटनापछि सीमा क्षेत्रमा निगरानीसमेत थप कडा पारिएको बताइएको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]