विराटनगर, कार्तिक २२ गते । छठ पर्वमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ । यसमा महिलाहरू अग्र भूमिका खेल्ने भएकाले उनीहरूको नेतृत्वमै यो पर्व सदियौंदेखि सम्पन्न हुँदै आएको छ । शारीरिक र मानसिक रूपले स्वस्थ घरकी ज्येष्ठ महिलाको अग्रसारितामा सम्पूर्ण परिवार, पति र सन्तानका सुख, समृद्धि र सम्पन्ताका लागि छठ पर्व प्रत्येक वर्ष मनाइने परम्परा अद्यापि जीवन्त छ ।
घरका पुरुष वर्गले पूजाआजाका सबै सामानहरूको चाँजोपाँजो मिलाए पनि यसको सम्पूर्ण व्यवस्थापन महिलाले नै गर्ने गर्छिन् । महिलाको कडा निगरानी एवं निर्देशनमा मात्र पुरुष वर्गको सहभागिता यसमा देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने महिलाको महिमा एवं गरिमा सम्पूर्ण रूपमा सम्मानित हुन्छ यस पर्वमा । महिलामाथिको थिचोमिचो यसमा देखिँदैन । समाजमा महिलाको मानमर्यादालाई यसरी समाजमा स्वीकृत भएको पाइन्छ । महिलाको अग्रगण्य भूमिका समाजमा प्रचलित रहेको टड्कारो परिणाम यस पर्वबाट प्रमाणित हुन जान्छ । लगातार चार दिनसम्मको अनुष्ठान अनुकरणीय हुन्छ ।
महिलाहरूको त्याग, तपस्या र सहनशीलताको अनुपम उदाहरण यो पर्वबाट पुष्टि हुन जान्छ । विश्वको प्रायःजसो सबै संस्कृतिमा सूर्योपासना पद्धति प्रचलित पाइन्छ । यसको शैलीमा अवश्यमेव आ–आफ्नो संस्कृतिको छवि र छायाँ झल्किन्छ तर सूर्योपासनाको परम्परालाई प्रायः सबै संस्कृतिमा स्वीकार गरिएको पाइन्छ । हिन्दु संस्कृतिमा सूर्यलाई पूजनीयः सम्माननीय र आदरणीय देउताको रूपमा मानिने धेरै प्राचीन परम्परा जीवन्त छ । मुख्य रूपमा यस पर्वलाई नेपाल र भारतका केही भागहरूमा मनाइने भएकोले र यो क्षेत्र प्रायः हिन्दु धर्मावलम्बी भएकोले यस पर्वमा महिलाको भूमिका महत्त्वपूर्ण हुनु महिला सशक्तीकरणको एउटा दरिलोउदाहरण भन्न सकिन्छ । व्रतालु महिलालाई नमन गर्ने प्रथाबाट पनि यो कुरो स्पष्ट हुन जान्छ ।
’यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ को वैदिककालमा उन्नति र उत्थान पूर्ण स्थान महिलाको रहेछ भन्ने कुरो पुष्टि हुन आउँछ । विशेषतः मिथिलाञ्चलका महिला घुम्टो प्रथामा बस्नको लागि अभ्यस्त र अभिशप्त हुन्छन् । उनीहरू अन्य बेलामा त्यति स्वतन्त्रताको अनुभव गर्दैनन् तर छठ पर्वको अवसरमा उनीहरू उपवास, गीत, संगीत, तथा नृत्यद्वारा आफ्नो गुनासा र गन्थन सूर्य देवलाईपोख्ने गर्दछन् ।
आराध्य देव सूर्य भएको हुनाले उनको समक्ष आफ्नो पीर मर्का पोख्नका लागि उनीहरू स्वतन्त्र हुन्छन् । घरदेखि घाटसम्म उनीहरू आफ्नो मनोनुकूलको गरगहना र साज शृंगार गरेर पूजाभावले भरिपूर्ण भएर सूर्यलाई अनुनय– विनय गर्दै आफ्नो अधिकार जनाउँछन् । यो व्रतभरिको अवधिमा यिनीहरू घुम्टो उघारेर स्वतन्त्रतापूर्वक सूर्य देवतासमक्ष आफ्नो भक्तिभावनाको अभिव्यक्ति गर्दछन् । पर्वको यो मौलिक विशेषता भएकोले महिला सशक्तीकरणको स्वर यहाँ टड्कारो रूपमा सुन्न सकिन्छ । सन्तानहीन महिलामा अवश्यमेव दीनहीन भावनायुक्त अन्तरवेदनाको अनुगुन्ज सुनिन्छ । तर अन्य महिलामा सशक्त स्वरमा महिला अधिकारको आवाज अभिव्यक्त भएको हुन्छ ।
अस्ताचलगामी सूर्यलाई छठ मैया भनेर महिलाको शक्तिलाई पूजा–आजा गरिन्छ । उषा दिनकरकी बहिनी हुनुहुन्छ । महिला पनि उत्तिकै सम्मानित, पूजित र समादृत स्थान राख्दछ, जति पुरुष । अस्ताउँदो सूर्यलाई विश्वको कुनै पनि मुलुकमा पूजाआजा गर्ने परम्परा छैन । तर सम्पूर्ण मिथिलाञ्चलमा अस्ताउँदो सूर्य अर्थात् उसकी बहिनी उषाको रूपमा पूजाआजा गर्ने सदियौं पुरानो परम्परा रहेछ । उषालाई छठी मैयाको रूपमा पुज्ने प्रथा मैथिल समाजमा भएकोले महिला सशक्तीकरणको टड्कारो उदाहरणको रूपमा यस पर्वलाई लिन सकिन्छ ।
प्राचीन ग्रन्थ ऋग्वेदमा सूर्योपासनाको महत्त्वलाई ’हे जाज्वल्यमान सूर्यदेव’ भनेर सम्बोधन गरिएको छ । मत्स्य पुराणमा आरोग्य भास्करो दिच्छेत अर्थात् सूर्यबाट आरोग्यताको कामना गरिन्छ । यसैगरी पदम पुराणमा सूर्योपासना मात्रेण सर्वरोगता प्रभुत्येत अर्थात् सूर्यको उपासनाबाट सबै प्रकारको बिरामीबाट मुक्त होइन्छ । परम्पराः– सृष्टिको उषाकालदेखि छठ पर्व मनाउने परम्परा प्रारम्भ भएको मानिन्छ । मानव सभ्यता संस्कृतिको विकासको आरम्भकालदेखि नै मानिस सूर्य चन्द्र र पृथ्वीको पूजा गर्दै आएका छन् । त्यस्तै नदी, नाला र रूखबिरुवाको पनि पूजा–आजा गर्दै आएको प्रमाण भेटिन्छन् । हिन्दु धर्म र संस्कृतिमा ठूलो स्थान ओगटेको र सम्पूर्ण मिथिलाञ्चलका सर्व श्रेष्ठ चाडको रूपमा मनाइने छठ व्रत कार्तिक शुल्क पक्षको षष्ठी र सप्तमी तिथिमा बडो निष्ठा र श्रद्धाका साथ सम्पादित हुँदै आएको छ । सूर्यलाई पृथ्वीको सृष्टिकर्ता मानेर मानिसले पूजाआजा गर्दै प्रारम्भिककालमा आरम्भ गरेको परम्परा अद्यापि जीवन्त रहेको पाइन्छ । कार्तिक शुक्ल षष्ठी तिथिको सन्ध्याकालमा अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिँदै व्रतालु भक्तजनहरूले अर्को दिन सप्तमी तिथिमा सूर्यलाई आरती र अघ्र्य प्रदान गरेपछि छठ व्रतसम्बन्धी कथाको वाचन र श्रवण गरेर समापन गरिन्छ । समापनपछि इष्टमित्रहरू र परिवारजनको बीच प्रसाद, फलादी प्रदान गरेर व्रतालुहरू स्वयंले पनि खाने गर्दछन् ।
छठ व्रतलाई षष्ठीमाता वा छठीमाई वा छठ परमेश्वरीको व्रत भनेर पनि पूजा–आजा गर्ने प्रचलन मिथिलाञ्चलमा जीवितै छ । छठीमाई देव सेनापति स्कन्ध कुमारकी सहचरी तथा भगवान् शंकरकी पुत्रवधू थिइन् । उनलाई छठीमाईको रूपमा पूज्ने गरिन्छ । महासती हुनाले दुर्गे महादुर्गे नामले उनलाई सम्बोधन गरिन्छ । सतीको साक्षी भगवान् भाष्कर भएकोले यस चाडलाई सूर्य षष्ठी भनिन्छ । मिथिलाञ्चलमा धेरैजसो र अवधी तथा भोजपुरी क्षेत्रमा अहिले भारतको हरिद्वार तथा मुम्बईमा प्रचलित यस सूर्य व्रतको प्रतिपादन हजारौं वर्ष पूर्व महर्षि याज्ञवल्क्यले गर्नुभएको थियो । छठीमाई नै षष्टी देवी हुन् ।
प्रथम स्वयम्भू मनु महाराज जसलाई सृष्टिका आदिपुरुष पनि भनिन्छ उनको ज्येष्ठ पुत्र प्रियवर्त राजनले उपासना गरेर यसको सुरुवात गर्नुभो । उहाँले सात दिनसम्म लगातार सूर्योपासना गरेर राति सूर्योदय गराउनुभो । सूर्यको रथको चक्काबाट सात समुद्र निस्कियो जुन षष्ठी माईको प्रभाव थियो । यस्तो लोकविश्वास पाइन्छ । धर्मशास्त्रमा के पनि उल्लेख पाइन्छ भने आजभन्दा पाँच हजार वर्ष पूर्व कृष्ण–बलरामलाई छठीको राति सोह्र कहारले बोकेको पालकी चढेर छठी माई आशीर्वाद दिएर फर्केकी थिइन् । भविष्योत्तर पुराणको प्रकृति खण्डमा वर्षभरिकै छठी व्रतको विधि विधान उल्लेखित छ । वर्षभरिको विधि विधान सबैलाई सम्भव नभएको हुनाले वर्षमा दुई पटक कार्तिक शुल्क षष्ठी र चैत्र शल्क षष्ठी तिथिमा छठीव्रत सम्पन्न गर्ने गरिन्छ । त्रेतायुगमा सर्वप्रथम चक्रवर्ती सम्राट् दशरथकी महारानी कौशल्या छठीव्रत गरेर सन्तान वती भएकी थिइन् । महाभारत कालमा कुन्तीले यसव्रतको पूजा गरेर कर्णजस्तो दे दिण्यमान पुत्र पाउने सौभाग्य प्राप्त गरेकी थिइन् । अतः सन्तानोत्पति र असाध्य रोगबाट मुक्तिको लागि छठीव्रतको पूजाआजा गर्ने परम्परा अद्यावधि प्रचलित छ । चर्मरोगले ग्रस्त भक्तजनहरूले यस पूजाको अनुष्ठान गरेपछि रोगमुक्त भएका कतिपय उदाहरणहरू भेटिन्छन् ।
पूजन सामग्रीहरूः– छठ पर्वमा चाहिने पूजन सामग्रीहरूमा ६० किसिमको चीजबीजको विधिविधान निर्धारित गरिएको छ तर यो सबै अचेल सम्भव नभएकोले ’अभावेशाली चूर्णम’को विधि अपनाइन्छ अर्थात् सबै व्रतालुहरूले आफूले सकेसम्म जति सम्भव हुन्छ त्यत्तिनै सामग्रीहरूको सरजाम जोडेर पूजाआजा गर्ने गर्दछन् । पारिवारिक सुख, स्वास्थ्य र कल्याणको लागि गरिने छठ व्रतमा मुख्यतः गहुँ र गुडको मिश्रण गरेर तयार पारिएको ठेकुवा (खजुरिया) र चामलको पिठो र सक्खर मिलाएर पकाएको कसार (भुसवाको) बाहेक केरा, नरिवल, उँखु, कागती, भोगटे, सक्खरखण्ड, अदुवा, बेसार, पान, मखाना र मिष्ठान्न आदिकोविविध प्रकारको प्रावधान गरिएको छ । मौसमी फलफूलहरू र वनस्पातिक वस्तुहरूको बाहुल्य पाइन्छ किनभने सम्पूर्ण मिथिलाञ्चल शतप्रतिशत कृषि प्रधान प्रदेश रहेको छ । यसमा धानजस्तो अन्न गमढीको मगमगाउँदो बास्नायुक्त खीर शुद्ध मानिन्छ ।
कोशिया कुरवार भनिने घैला र केरा जति महँगो भए पनि यसको व्यवस्था गरिन्छ । माटोको हात्ती सूर्यको रथको प्रतीकको रूपमा प्रयुक्त हुन्छ । कन्दमूल प्रधान यस पर्वमा बाँसद्वारा निर्मित ’सूप’ मा सबै सामग्रीहरू सजाइन्छ । प्रत्येक सूपमा एक–एक दीप प्रज्वलित गरेर व्रतालुहरू नदी वा पोखरीमा घुँडासम्म पानीमा उभेर सूर्य देवतालाई अघ्र्य दिने शास्त्र अनुमोदित विधि विधान छ । सम्पूर्ण पूजा सामग्रीको बीचमा तीनवटा उखुको लग्गा बाँधी कोशिया भर्ने गरिन्छ । प्रत्येक कोशियामा एक–एक दीप बालिन्छ । कोशियाकोसंख्या भाकलअनुसार निधारित गरिएको हुन्छ ।
नाङ्लो नयाँ र ढकीको प्रयोग शुद्ध मानिन्छ । प्रसाद र पूजन सामग्रीले यो सुसज्जित हुन्छ । यी पूजा सामग्रीहरूलाई नयाँ कपडाले छोपेर त्यसमाथि दीप बालेर राखिन्छ । व्रतालुहरूले यसलाई शिरमा राखेर नृत्य गर्दै घरदेखि घाटसम्म जान्छन् । लोकतान्त्रिक चाड छठ मिथिलाञ्चलमा गणतन्त्रको परम्परा प्राचीन रहेछ । राजर्षि जनकले नै सर्वप्रथम लोकतन्त्रको प्रारम्भ गरेको कुरो ऐतिहासिक सत्य सावित भइसकेको छ ।
त्यस समयदेखि लोकतन्त्र र प्रजातन्त्रको बीजारोपण भएको पाइन्छ । मानव सभ्यताको विकास भएको समयदेखि छठ चाडको शुभारम्भ भएको कुरो प्रमाणित भइसकेको छ । सूर्य साक्षात् देवता हुन् र यसलाई हामी आफ्नो आँखाले देख्दछौं । मानव जाति सृष्टिको उषाकालदेखि सूर्यलाई आराधना र अर्चना गर्दै आएको छ । सूर्यलाई लोकतन्त्रको पर्यायवाची मान्न सकिन्छ । सूर्यबिना कुनै पूर्वाग्रह पालेर सम्पूर्ण संसारलाई प्रज्वलित गर्दै आएको स्वयं प्रमाण प्रस्तुत गर्दछन् । यसले बिना कुनै भेदभाव सम्पूर्ण संसारमा आफ्नो प्रकाश फैलाउँदै आएको छ र भविष्यमा पनि फैलाउनेछ । यो निर्विवाद सत्य हो । व्रतालुहरू पनि अस्ताउँदो र उदाउँदो सूर्यलाई समानरूपमा पूजाआजा गर्ने गर्दछन् । सम्पूर्ण संसारमा यो एउटा अनौठो परम्परा मिथिलाञ्चलमा मात्र पाइन्छ कि अस्ताचलगामी र उदित अंशुमालीलाई समान रूपमा सम्मानित एवं पूजित गर्ने परम्परा जीवित छ । अंग्रेजी भाषामा एउटा उक्ति छ जुन यस पर्वमा अक्षरशः चरितार्थ हुन्छ– ःभल बमयचभ तजभ चष्कष्लन कगल लयत तजभ कभततष्लन कगल .यस सन्दर्भमा के भनिन्छ भने मानिस उदाएको सूर्यलाई पूजा गर्दछ न कि अस्ताउने सूर्यलाई तर छठ पर्वमा अस्ताउने र उदाउने सूर्यलाई पूजा गर्ने चलन छ ।
सूर्य आफ्नो समदर्शी र समावेशी स्वभावले गर्दा सर्वत्र सधैं पूजित र सम्मानित हुँदै आएको छ । सूर्य स्वयं टड्कारो उदाहरण हुन सक्छ कि लोकतन्त्रमा सबैसित समान व्यवहार गर्ने गरिन्छ । लोकतन्त्रको प्रकृति र प्रवृत्ति सूर्यसँग मिल्दोजुल्दो छ । छठको प्रसादमा लोकतान्त्रिक झलक पाइन्छ । गमढी धानको प्रयोग प्रायः हुँदैन तर यस उपेक्षित र अपहेलित अन्नको खीर बनाएर व्रतालुहरू खाने गर्दछन् । यस अन्नलाई यथोचित स्थान यस पर्वमा मात्र दिइने परम्परा अद्यावधि जीवन्त छ । समाजमा वर्ण व्यवस्थाको बिगबिगी रहेको बेलादेखि आजसम्म ’डुम’ जातिलाई समम्मान यस पर्वमा स्थान दिइने प्रचलन जीवित छ । यसले बनाएको सूप, नाङ्लो, छिट्टी, टोकरी र बास्केटको प्रयोगबिना यस पर्वको परिकल्पना पनि गर्न सकिँदैन । छठको घाटमा लोकतन्त्र जलाशयको अभावमा छठको कल्पना असम्भव हुन्छ । यस पर्वको जलसँग अभिन्न सम्बन्ध गाँसिएको छ । समाजको सबै वर्ग, जात जाति मिलेर पर्व मनाउने गर्दछ । घाटमा पुगेपछि जातपातको भेदभाव भंग हुन्छ । विभिन्न धर्मावलम्बीहरू समेत यस पर्वमा सहभागी हुन्छन् ।
सूर्योपासना प्रधान पर्व भएकोले यसमा कुनै जातजातिको प्रधानता हुँदैन । सबै समान रूपमा सहभागी हुने गर्दछ । एउटै जलाशयमा सबै व्रतालु र श्रद्धालु भक्तजनहरू मिलेर हर्षोल्लासका साथ मनाउने गर्दछन् । लोकतान्त्रिक पद्धतिअनुसार छठको घाटमा पूजाआजा गरिने भएकोले यहाँ भेदभावको पर्खाल भंग हुन्छ । नटुआ नाचः छठमा नटुआ नचाउने प्रथा छ । यस नाचमा पनि कुनै भेदभाव देखिँदैन । केटा नै केटीको भूमिका निर्वाह गर्दै नाच्ने गर्दछ । व्रतालुहरू विभिन्न भाकल गरेर पर्वलाई मनाउने गरेकोले लोकतान्त्रिक भावनाको पुष्टि हुन्छ ।
साधारणतः निम्न जातको केटो नै यस नाचमा भाग लिने गर्दछ तर यस चाडमा व्रतालुहरू यिनलाई आफ्नो आँचल पसारेर स्वागत सत्कार गरेर सम्मान गर्दछन् । यसलाई शुभ संकेतको रूपमा स्वीकार गरिन्छ । दूधको अघ्र्यः व्रतालुहरू जब सन्ध्याकालीन र प्रातःकालीन सूर्यलाई अघ्र्य प्रदान गर्ने गर्दछन् तब उनीहरूको अघ्र्य प्रदान गर्ने पातमा या भाँडामा जुन कुनै किसिमको जात–जातिले दूधको अघ्र्य प्रवाहित गर्न सक्छ । यसमा कुनै किसिमको जात– पातको भेदभाव गरिँदैन । यस प्रकार के भन्न सकिन्छ भने छठ पर्वमा लोकतत्रको छवि र छटा छायांकित भएको हुन्छ । यस चाडमा लोकतन्त्रको लालिमा छरिएको हुन्छ ।
छठ पर्वको उत्पत्ति मैथिली संस्कृति नदी प्रधान संस्कृति भएकोले र छठ पर्व जलाशयसँग सम्बन्धित भएकोले यो संस्कृति अति प्राचीन त हुँदै हो तर जलायशको अभावमा यसको कल्पना गर्न सकिन्न । यो नेपाल र छिमेकी मुलुक भारतको प्राचीन धार्मिक पर्व हो । नेपालमा यो पर्व कोसी र सदानीरा गण्डकी नदीको बीचको भूभागमा मनाइन्छ । छठ पर्व मनाउने परम्पराको प्रारम्भ कहिलेदेखि भयो भनेर तथ्य पाइँदैन । यसको ऐतिहासिकतालाई पुष्टि गर्ने कुनै धर्मग्रन्थ प्राप्त भएको छैन । कुनै शिलालेख वा अभिलेख आजको अवधिसम्म प्राप्त हुन सकेको छैन । छठ पर्व र सूर्यपूजाबीच रहेको अभिन्न सम्बन्ध प्राचीनकालदेखि नै पाइन्छ । सूर्यपूजाको प्रचलन र सूर्यपूजाबारे प्राप्त विभिन्न अभिलेखहरू र मुद्राहरूबाट छठ पर्व पनि प्राचीन सांस्कृतिक पर्व हो भनी सहजै अनुमान गर्न सकिन्छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]