विराटनगर, चैत १३ गते । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल यूथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी फाईनलमा पुग्न सफल भएको छ ।
जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रामक खेल खेलेका थिए । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो ।
५९ औँ मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनीश देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो । ८७ औँ मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले निकालेको क्रस पासलाई अभिषेक गुरुङले गोल गरी टिमको लागि विजय गोल गरेका थिए ।
लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा सेमिफाइनलबाट घर फर्किन बाध्य भयो । ९ औँ मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनीश देउलाले उत्कृष्ट बचाए । १७ औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए ।
त्यसलगैत एनकोटोले निकालेको क्रस पासलाई हिसुबले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए । २७ औ मिनेटमा विमलले निकालेको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके ।५३ औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले विफल पारिदिए । ७० औँ मिनेटमा विराटनगरका अभिषेक गुरुङले गरेको कडा प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर गएका थिए ।
खेलको ८९ औँ मिनेटमा जावलाखेलका कप्तान सीमन्त थापाको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर फाले । त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले विफल पारिदिए । खेलको अन्ततिर जावलाखेल समालिन् नसक्दा थप गोल खाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए । म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । आयोजकले उनलाई नगद ११ हजार रुपैयाँ चेक हस्तान्तरण गरेका थिए ।
मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साबिक विजेता विभागीय टिम एपीएफबीच हुनेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]