

विराटनगर, श्रावण १३ गते । गुरु पूर्णिमाको पावन अवसरमा विराटनगर महानगरपालिका–१४ स्थित रामजानकी मन्दिर, जुतुवामा आयोजित विशेष कार्यक्रममा विराट योग सेवा केन्द्रका संस्थापक योग गुरु देव वशिष्ठलाई सम्मान गरिएको छ ।
विराट योग सेवा केन्द्रका साधक तथा योगप्रेमीहरूले गुरु वशिष्ठलाई दोसल्ला, खादा र रुद्राक्षको मालासहित सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका–१० का वडा अध्यक्ष अर्जुन गिरी, दैनिक योग अभ्यासमा सहभागी ज्येष्ठ नागरिक मिना घिमिरे तथा विराट योग सेवा केन्द्रका अध्यक्ष गंगा प्रसाद दाहालले संयुक्त रूपमा सम्मान अर्पण गरेका थिए ।
२०८२ साल कार्तिक २९ गते विराटनगर–१० स्थित रहेको व्यायामशालाबाट सुरु भएको विराट योग सेवा केन्द्रमा योगप्रति बढ्दो आकर्षणका कारण स्थान अभाव भएपछि केही महिनायता रामजानकी मन्दिर परिसरमा प्रत्येक दिन बिहान ५ बजेदेखि नियमित योग अभ्यास सञ्चालन हुँदै आएको छ । केन्द्रमा दैनिक रूपमा ठूलो संख्यामा योगप्रेमीहरूको सहभागिता रहने गरेको योग सेवा केन्द्रका कोषाध्यक्ष श्याम सुन्दर सुतिहारले जनाएको छ ।

सम्मान ग्रहणपछि योग गुरु देव वशिष्ठले योग अहिलेको व्यस्त जीवनशैलीमा अत्यावश्यक बन्दै गएको बताए । नियमित योग अभ्यासले शरीरलाई निरोगी बनाउनुका साथै सकारात्मक सोच, मानसिक शान्ति र पारिवारिक सद्भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष अर्जुन गिरीले विराटनगर महानगरपालिकाले ‘एक वडा, एक व्यायामशाला’ नीति कार्यान्वयन गर्दै नगरवासीको स्वास्थ्य प्रवद्र्धनमा जोड दिएको बताए । सोही नीतिअनुसार निर्माण गरिएको व्यायामशालाले योग तथा व्यायाम गर्ने सबै नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनले उल्लेख गरे ।

कार्यक्रममा हरिओम योग सेवा केन्द्र, नयाँबजारका अध्यक्ष, उपाध्यक्ष, प्रशिक्षक तथा विभिन्न क्षेत्रका योग साधकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा राजकुमार रौनियार, कमल राठी, संजय साह लगायतको उल्लेख्य सहयोग गरेका थिए ।
गुरु पूर्णिमाको अवसरमा आयोजित उक्त सम्मान कार्यक्रमले गुरु–शिष्य परम्पराप्रतिको सम्मानलाई थप मजबुत बनाउनुका साथै समाजमा योग संस्कृतिको विस्तार र स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]