विराटनगर, २३ गते । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारदेखि भारतीय सीमा क्षेत्रसम्म पुग्ने सडकको किनारामा वृक्षारोपण अभियान सुरु गरेका छन् ।
शनिबार सांसद मण्डलको समन्वयमा जीवन विकास समाजले औपचारिक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको थियो । धनपालथान गाउँपालिका र मेट लाइफ इन्स्योरेन्सले सहयोग गरेको अभियान सञ्चालनका लागि थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरिएको छ ।
पहिलो दिन शनिबार ५ सय विरुवा रोपिएको थियो । अभियानको पहिलो चरणमा क्षेत्र नम्बर ५ का सबै कालोपत्रे सडकको दाँया बाँया बिरुवा रोप्ने सांसद मण्डलको योजना छ । पृथ्वी बचाउने अभियान अन्तरगत कालोपत्रे सडकको किनारमा बिरुवा रोप्ने उनले बताए । कालोपत्रे सडक वातावरणीय हिसाबले हानिकारक रहेको बताउँदै उनले वातावरण संरक्षणका लागि सडक किनारमा वृक्षारोपण गर्न आग्रह आम नागरिकलाई आग्रह गरेका छन् ।
अभियान अन्तरगत सडक किनारमा रोपिएको बिरुवा संरक्षणका लागि सम्बन्धित क्षेत्रका स्थानीयलाई जिम्मेवार बनाइनेछ । सडकको किनाराका घर छेउछाउ फलफूलको विरुवा रोप्दा स्थानीयले संरक्षण गर्ने उनको भनाई छ । धनपालथान गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदारले पृथ्वी बचाउ अभियान अन्तरगत पालिका भित्रका सडकमा रोपिएका बिरुवा संरक्षण गरेर हुर्काउने बताए । सडकमा रोपिएको बिरुवाको संरक्षणका लागि पालिकाले सबैसँग सहकार्य गरेर काम गर्ने जानकारी दिए ।
कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशमा वन विस्तारका लागि मन्त्रालयले काम गरिरहेको बताए । वृक्षारोपण र वातावरण संरक्षणका लागि मन्त्रालयले निरन्तर सहयोग गरिरहने उनको भनाई छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले पनि वातावरण संरक्षणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी दिए । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लब गठन र सामाजिक कार्यमा युवा परिचालनका लागि काम गरिरहेको बताउँदै उनले रोपिएका विरुवालाई माया गरेर हुर्काउन आग्रह गरेका थिए ।
धनपालथान गाउँपालिकाका पूर्व प्रमुख हरिलाल सिंहले वृक्षरोपणसँगै संरक्षण अभियान सञ्चालन गर्न आग्रह गरेका थिए । मेट लाइफ इन्स्योरेन्सका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले स्वच्छ वातावरण अर्को पुस्तालाई हस्तान्तरणका लागि निरन्तर वृक्षरोपणसँगै संरक्षण आवश्यक रहेको बताए ।
अभियान उद्घाटनका क्रममा धनपालथान– ४ का वडा अध्यक्ष श्रीराम चौधरी र वडा नम्बर २ का अध्यक्ष पंकजकुमार मण्डलले आफ्नो वडा तहमा रोपिएको विरुवा संरक्षण गर्ने प्रतिवद्धता जनाएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]