दिलीप अग्रवाल
रंगेली, अषाढ ३० गते । मोरंगको रंगेली अस्पतालले स्वास्थ्य सेवा मापदण्डअनुसारको मूल्यांकनमा ८६ प्रतिशत अंक प्राप्त गर्दै देशभरका स्थानीय तह अन्तर्गत सञ्चालनमा रहेका अस्पतालहरूमध्ये नमूना अस्पताल बन्न सफल भएको छ।
अस्पतालद्वारा आयोजित एक कार्यक्रममार्फत मूल्यांकनको नतिजा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले सबैको संयुक्त प्रयासबाट अस्पतालले नमूना अस्पतालको मान्यता पाउन सफल भएको बताउँदै, व्यवस्थापकीय पक्षसँगसँगै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको लगनशीलतालाई प्रशंसा गरे। उनले आगामी मूल्यांकनमा ९० अंक पार गर्ने लक्ष्यसहित अझ सुविधा सम्पन्न बनाउने दिशामा अघि बढ्न निर्देशन पनि दिएका छन ।
न्यूनतम सेवा मापदण्ड अन्तर्गत सुशासन, व्यवस्थापन, क्लिनिकल सेवा, हस्पिटल सेवा लगायतका विभिन्न सूचकको आधारमा गरिएको मूल्यांकनमा रंगेली अस्पतालले उत्कृष्ट प्रदर्शन गर्दै ८६ अंक प्राप्त गरेको हो।
रंगेली नगरपालिकाको स्वामित्वमा रहेको यस अस्पतालले अघिल्लो मूल्यांकनमा ८० अंक प्राप्त गरेको थियो । मूल्यांकन हरेक ६/६ महिनामा गरिँदै आएको थियो ।सुधारको क्रम जारी रहेकाले आगामी मूल्यांकनमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलिया, धनकुटा जिल्ला अस्पतालका डा. पुजन विश्वकर्मा, सुनसरी अस्पतालका डा. वैभव मल्लिक, डा. पशुपति खनाल र डा. आस्था थापालगायत सहभागीहरूले रंगेली अस्पतालले उदाहरणीय फड्को मारेको धारणा व्यक्त गरे। उनीहरूले स्थानीय तहको मातहतमा रहेर पनि यस स्तरको सेवा प्रदान गर्नु उल्लेखनीय भएको बताए।
कार्यक्रममा उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा अध्यक्ष रामचन्द्र मण्डल, अस्पताल प्रमुख डा. बसन्त साह, व्यवस्थापन समिति अध्यक्ष देवमणि कटुवाल, सदस्यहरू पुरुषोत्तम काफ्ले, अजिम आलम, विभिन्न वडाका अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, ईन्चार्ज तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]