विराटनगर, भाद्र ८ गते । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले पत्रकारसंग सम्वन्धित संघ संस्थाहरुको प्रतिनिधीहरुसंग छलफल गरी पहिलो चरणको आन्दोलन भदौ ९ गते देखि १३ गते सम्म गर्ने घोषणा गरेका छन् ।
‘कोशी प्रदेश आमसञ्चार विधेयक ’प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने अभिप्रायले आएको भन्दै यसको विरोधमा पत्रकार महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
महासंघले उक्त विधेयक संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार, भदौ ९ गते प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउन सरकार र प्रदेशसभालाई खबरदारी गर्नेछन् । भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री तथा संसदीय दलका नेताहरूलाई भेटेर ध्यानाकर्षण गराइनेछ भने प्रदेशभर कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान ‘खारेज गर ’ भन्ने नारासहित प्रदर्शन गरिनेछ ।
भदौ ११ गते प्रदेशका पत्रकारहरूले आ–आफ्ना जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाएर विरोध जनाउनेछन् । भदौ १२ गते नेपाल पत्रकार महासंघ प्रदेश समितिले मुख्यमन्त्री कार्यालय अगाडि र जिल्ला शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम घोषण गरेका छन ।
पहिलो चरणको आन्दोलनको अन्तिम दिन, भदौ १३ गते दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा वृहत् धर्ना दिइने महासंघले जानकारी गराएको छ ।
कोशी प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक पत्रकारको हितमा नभएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश, संसदीय पत्रकार मञ्च र पत्रकारसंग सम्बन्धि संघ संगठनहरुले भदौ ६ गते आन्दोलनमा उत्रेको थियो । सो आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको थियो ।
कोशी प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिले तयार गरेको ’कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको समितिको प्रतिवेदन २०८२ भदौ ६ गते शुक्रवार प्रदेश सभाको ३८ औं बैठकमा पेश भएको वेला देखि कोशी प्रदेशका पत्रकारहरुले आन्दोलन छेडेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]