
रामनारायण ठाकुर
मिर्चैया, पुस १३ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका-६ मगटौली जिवाभोटियाँ टोलका विपन्न तथा घरविहीन मुसहर परिवारहरू कठ्यांग्रिदो जाडो र शीतलहरको चपेटामा परेका छन्।
चिसो बढ्दै जाँदा जनजीवन अत्यन्त कष्टकर बनेको छ तर उनीहरूका लागि न त पक्की घर छ, न त पर्याप्त न्यानो ओढ्ने र आेछ्याउने सिरक र तन्नाको व्यवस्था छ ।
स्थानीय ४५ वर्षीय विजय सदा आफ्ना तीन छोरा र एक छोरीसहित ६ जनाको परिवार लिएर त्रिपालमुनि बस्न बाध्य छन् ।
त्यसैगरी पञ्ची सदा, रामलोचन सदा, संजय सदा, झिगुरा सदा, डिङ्गरा सदा, सन्त सदा, रसिया सदा, रासालाल सदा, श्रीराम सदा र जितना सदा लगायतका मुसहर परिवारहरू पनि वर्षौंदेखि घरविहीन अवस्थामा जीवन बिताइरहेका छन्।
मधेस प्रदेश सरकारको बजेटमार्फत विपन्न तथा दलित समुदायका लागि आवास निर्माण गर्ने भनिए पनि दुई–तीन वर्ष बितिसक्दा समेत ती घरहरू पूर्ण रूपमा निर्माण हुन सकेका छैनन् । कतिपय स्थानमा आधा घर मात्र निर्माण भई बाँकी काम अलपत्र परेको स्थानीयको गुनासो छ। सरकारी आश्वासनमै सीमित हुँदा पीडित परिवारहरू अझै पनि कष्टकर जीवन बिताउन बाध्य छन्।
चिसो बढ्दै जाँदा बालबालिका, वृद्ध र महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको स्थानीयवासीहरूले बताएका छन् । उनीहरूले सम्बन्धित निकायसँग तत्काल राहत, न्यानो कपडा तथा स्थायी आवासको व्यवस्था गर्न माग गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]