विराटनगर, पुस १७ गते । विराट एक्स्पोमा आयोजना भईरहेको थिमेटिक सेसनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योगको आवश्यकता र श्रम बजारको मागअनुसार सीप विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले सीप विकास कुनै एक कार्यक्रमको एजेन्डा मात्र नभई युवाको भविष्य, रोजगारी र सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा विषय भएको बताए ।
औद्योगिक शहरको पहिचान बोकेको विराटनगरमा उद्योग–व्यवसाय विस्तार भइरहे पनि दक्ष जनशक्तिको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको मेयर कोइरालाको भनाइ छ । “एकातिर उद्योगले दक्ष कामदार खोजिरहेका छन्, अर्कोतिर युवा रोजगारीका लागि विदेशिन बाध्य छन्,” उनले भने, “सीप विकास र रोजगारी सिर्जना बीचको यो असन्तुलनले औद्योगिक विस्तारमै असर पु¥याएको छ ।”
स्थानीय सरकार तालिम बाँड्ने निकाय मात्र नभई युवालाई रोजगारीसँग जोड्ने सेतु बन्नुपर्ने उल्लेख गर्दै मेयर कोइरालाले महानगरपालिकाले सीप विकासलाई दीर्घकालीन रणनीतिक प्राथमिकतामा राख्ने स्पष्ट पारे। “उद्योगसँग तादात्म्य नमिलेका तालिमले अपेक्षित उपलब्धि दिन सक्दैनन्,” उनले भने, “सीप विकासमा गरिने लगानी खर्च होइन, यो भविष्यका लागि लगानी हो ।”


उनका अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको नयाँ अवधारणा अनुसार उद्योगले चाहेको सीपको परीक्षण गरिनेछ र महानगरपालिका समन्वयात्मक भूमिकामा पूर्ण प्रतिबद्ध रहनेछ । महानगरले सीपलाई प्रत्यक्ष रोजगारीमा रूपान्तरण गर्ने दिशामा काम गर्ने तयारीसमेत गरेको छ ।
कार्यक्रममा टिभेटमा निजी क्षेत्रको भूमिकाबारे सगरमाथा आइल्याबले प्रस्तुति दिएको थियो । सहभागीहरूले टिभेटको उद्देश्य केवल प्रमाणपत्र वितरण नभई उत्पादन वृद्धि गर्ने र उद्योगलाई आवश्यक जनशक्ति तयार गर्नु हुनुपर्नेमा जोड दिए। टिभेटसम्बन्धी शैक्षिक संस्था बढ्दै जाँदा उद्यम विकासमा समेत सकारात्मक योगदान पुग्ने उनीहरूको भनाइ थियो।
सहभागीहरूले श्रम बजारको वास्तविक माग पहिचान गर्न नसक्दा समस्या आएको उल्लेख गर्दै १० वर्षअघिका पाठ्यक्रम अझै पढाइ भइरहेकोतर्फ ध्यानाकर्षण गराए । पछिल्लो समय डिजिटल मार्केटिङ जस्ता नयाँ सीपको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै उद्योग र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो ।
उद्योगले कस्तो जनशक्ति चाहिएको हो भन्ने जानकारी शैक्षिक संस्थालाई दिएपछि त्यसअनुसार पाठ्यक्रम र सामग्री विकास गर्न सकिने सहभागीहरूले बताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]