रामशरण यादव
लुम्बिनी, पुस ३० गते । लुम्बिनी प्रदेशमा आम जनता पार्टी (आजपा)ले उल्लेखनीय राजनीतिक उभार हासिल गर्दै आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गर्दै गएको छ । पछिल्ला दिनहरूमा बाँके, बर्दिया, रूपन्देही, नवलपरासी लगायतका जिल्लामा सञ्चालन गरिएका निर्वाचन लक्षित कार्यक्रमहरूले प्रदेशको पहाड, तराई तथा शहरी क्षेत्रसम्म पार्टीप्रतिको जनसमर्थन बढ्दै गएको स्पष्ट संकेत दिएका छन् । यसले लुम्बिनीको राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।
आम जनता पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष विजय यादव निर्विजको सक्रिय, संघर्षशील र परिणाममुखी नेतृत्वले पार्टी संगठनलाई निर्णायक चरणतर्फ अघि बढाएको पार्टी वृत्तको विश्लेषण छ । उहाँको नेतृत्वमा संगठन विस्तार, जनसम्पर्क अभियान, पार्टी प्रवेश कार्यक्रम तथा जनआन्दोलनमुखी गतिविधिहरूलाई तीव्रता दिइएको छ ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको आन्दोलन, भ्रष्टाचार विरुद्धको स्पष्ट अडान, सुशासन, सामाजिक न्याय र आम नागरिकको दैनिकीसँग जोडिएका मुद्दालाई केन्द्रीय एजेन्डा बनाएर अघि बढेको आजपाले आम जनताको भरोसा क्रमश ः जित्दै गएको देखिन्छ । विशेषगरी युवा, किसान, श्रमिक, साना व्यवसायी तथा उत्पीडित समुदायहरू आजपाप्रति आकर्षित हुँदै गएका छन् ।
पार्टी अध्यक्ष प्रभु साहको वैचारिक मार्गदर्शन र विजय यादव निर्विजको संगठनात्मक क्षमताको प्रभावकारी संयोजनले लुम्बिनी प्रदेशमा आजपाको राजनीतिक धरातल दिन प्रतिदिन सुदृढ बन्दै गएको रूपन्देही जिल्लाका चर्चित युवा पत्रकार भोला बानियाँले बताए । प्रदेशका विभिन्न जिल्लामा पार्टी संरचना मजबुत हुँदै जाँदा आगामी निर्वाचन र राजनीतिक समीकरणमा आजपा ‘किङमेकर’को भूमिकामा देखिन सक्ने संकेतहरू प्रस्ट हुँदै गएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार जनतामुखी मुद्दा, स्पष्ट दृष्टिकोण र प्रतिबद्ध नेतृत्वका कारण आम जनता पार्टी लुम्बिनी प्रदेशको राजनीतिमा दीर्घकालीन प्रभाव जमाउने दिशातर्फ दृढताका साथ अग्रसर छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]