

विराटनगर, जेठ १८ गते । एलिट क्लब विराटनगरको नव निर्वाचित कार्यसमितिको पदस्थापना तथा प्रमाणपत्र वितरण समारोह क्लबको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगरमहानगर पालिकाका प्रमुख नागेश कोइरालाले सम्बोधन गर्दै भने एलिट क्लबले समाजमा बौद्धिक बहस र सकारात्मक चेतना प्रवद्र्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वरिष्ठ अधिवक्ता दिल्ली कार्की संयोजक रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्यहरू चयन भएको जानकारी घोषण गरेका थिए ।
नव निर्वाचित कार्यसमितिको अध्यक्षमा इन्दिरा कार्की, महासचिव यज्ञप्रसाद शर्मा, अर्थ सचिव मणिकुमार अर्याल, सांस्कृतिक सचिव प्रमिला थापा तथा सदस्यहरू सुशीलकुमार झा, लीलाबल्लभ घिमिरे, डिकप्रसाद घिमिरे, भैरवप्रसाद रिजाल र मिना नेपाल रहेका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
कार्यक्रममा बोल्दै क्लबका निवर्तमान अध्यक्ष विश्वनाथ रिजालले आफूले आठ वर्षसम्म क्लबको नेतृत्व गर्ने अवसर पाएको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला समेत जुम मिटिङमार्फत संस्थाका गतिविधिहरूलाई निरन्तरता दिएको बताए । उनले क्लबको स्थापना २०१५ सालमा भएको उल्लेख गर्दै संस्थाका संस्थापक सदस्यहरूमध्ये हाल दुई जना जीवित रहेको जानकारी दिए ।
नव निर्वाचित अध्यक्ष इन्दिरा कार्की ले संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता जनाइन् । उनले भनिन्, “एलिट क्लबको शिर झुक्न दिने छैनौं । शिरमा क्षमता, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बोकेर काम गर्नेछौं ।”
नेपाल पत्रकार महासंघ मोरं अध्यक्ष सुशीला पाठकले एलिट क्लबले सामाजिक विषयहरूमा बहस र छलफलको संस्कृति विकास गर्दै आएको बताइन् । उनले यस्ता विषयहरू अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गर्दै क्लबले समाजलाई सही दिशा दिने अपेक्षा राखिन् ।
त्यसैगरी क्लबका पूर्व महासचिव दिनेश श्रेष्ठ ले इतिहासप्रति गौरव गर्नु आवश्यक भए पनि भौतिक निर्माण मात्र विकास नभएको उल्लेख गरे । उनले राष्ट्र निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै क्लबलाई अझ समावेशी र लोकतान्त्रिक बनाउन आग्रह गरे ।
विचार र बहसको मञ्चका रूपमा परिचित एलिट क्लबले आगामी दिनमा सामाजिक, बौद्धिक तथा समसामयिक विषयमा छलफललाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]