

– श्याम सुन्दर सुतिहार
९२ वर्षका धनेश्वर मण्डल (दास) बेलाबेलामा गाउँको पुराना पोखरीहतिर आँखा डुलाउँछन्।धनपालथान गाउँपालिका वडा नं. २ का यी वृद्धको आँखाले ती पोखरीहरू देख्छन् तब उनको मानसपटलमा आफ्ना बाजे–बराजुको पालाका कथाहरू ताजा भएर आउँछन् ।
– यी पोखरीहरू मान्छेले होइन, भूतप्रेतले एकै रातमा खनेका हुन् ।‘ धनेश्वर बाबुबाजेले सुनाएको लोककथा सम्झिँदै गम्भीर मुद्रामा भन्छन्, ‘अमाही, जटहा, भूतहा, बरियाती, ठनठनीया र गदिया नदी छेउका पोखरीहरू यसरी नै खनिएका थिए रे ! त्यस समय भूतप्रेतले कुल ६४ वटा ठूलठूला पोखरीहरू खनेका थिए रे, तीमध्ये सातवटा पोखरीहरू यहाँ रहेका कारण हाम्रो गाउँ टाढा टाढासम्म चिनिएको थियो ।’
विगतमा कुनै समय यी पोखरीहरू केवल पानी जम्मा हुने खाल्डा मात्र थिएनन्, बरु स्थानीय जीवनशैली, संस्कृति र सामाजिक सद्भावका जीवन्त केन्द्र थिए । विवाह, व्रतबन्ध, पूजापाठदेखि मृत्यु संस्कारसम्म पानी अनिवार्य चाहिन्थ्यो । पानीको स्रोत पोखरी नै हुन्थे । अचम्मको कुरा त, उहिले गाउँमा भोजभतेर हुँदा खाना पकाउने र खाने भाँडाकुँडा समेत गाउँलेहरूले पोखरीमा अएर माग्ने र केही समयमा पोखरीले उपलब्धगराउने गर्दथे भन्ने जनविश्वास थियो।यसरी पाइएको भाँडाकुँडा काम सकिएपछि पोखरीमा लगेर फिर्ता दिनुपर्दथ्यो । गाउँलेहरू मध्ये कसैले पोखरीबाट ल्याएका भाँडाकुँडा फिर्ता गरेनन् । त्यसपछि पोखरीले भाँडाकुँडा दिन बन्द गर्यो ।
समय बदलियो । गाउँमा इनार र कुवाको ठाउँ ट्युबवेलले लियो।पशुपालन घट्दै गयो। ती ऐतिहासिक पोखरीहरू बिस्तारै उपेक्षाको शिकार बन्दै गए ।

एक्कासी हराएको सामूहिकता र वैभव
भारतको विहार राज्यसँग सिमाना जोडिएको धनपालथान गाउँपालिका कृषि उत्पादनका लागि उर्वर भूमि हो। यहाँका झण्डै ८४ प्रतिशत जनता अहिले पनि कृषि पेशामै आधारित छन् । पूर्वमा रंगेली, पश्चिममा जहदा र उत्तरमा कटहरी गाउँपालिकासँग जोडिएको यो क्षेत्र बहुसांस्कृतिक छ । यहाँ उच्चवर्ग, आदिवासी जनजाति, दलित र पिछडावर्गको साझा बसोबास छ ।
गाउँपालिकाभित्र ५५ वटा ग्रामथान, ६२ वटा मन्दिर, १५ वटा मस्जिद र ४ वटा चर्च जस्ता १३६ वटा धार्मिक धरोहरहरू सुरक्षित छन्। तर, विडम्बना, गाउँको जैविक विविधता र सिँचाइको मुख्य स्रोत मानिएका सरकारी तथा सार्वजनिक पोखरीको भने सुरक्षा हुनसकेको छैन । वास्तविक तथ्याङ्क समेत गाउँपालिकासँग छैन ।
धेरैजसो पोखरीहरू विगतमा स्थानीय जमिनदारहरूले मानव कल्याण र धार्मिक विश्वासका कारण खनाएका थिए। धनपालथान वडा नं. ७ का ३५ वर्षीय इन्द्रदेव यादवका अनुसार उनी ऐतिहासिक पात्र राजा दासका परपोता (पनाति) हुन् । इन्द्रदेव भन्छन्, ‘हाम्रा पुर्खा र गाउँका जिमिदारहरूले आफ्नै निजी जग्गामा ठूला–ठूला पोखरी खनाएका थिए । पछि ती पोखरी भएको जग्गाको तिरो (कर) तिर्न नसकेपछि सबै सरकारीकरण भएका हुन् ।’
ती पोखरीहरू ४ देखि ५ विगाहासम्मको क्षेत्रफलमा फैलिएका छन्। सयौँ विगाहा जमिन ओगटेका यी प्राकृतिक सम्पदाहरू अहिले उचित संरक्षणको अभावमा फोहर फाल्ने ठाउँ बनिरहेका छन् ।
पालिकाभित्र रहेका पोखरीहरूः
– वडा नं. १ : सुडयारी पोखरी, बटेश्वर घर पश्चिमको पोखरी, कुम्झी पोखरी, दहिपौरा पोखरी, ठूलो पोखरी र गोडियारी पोखरी (६ वटा) ।
– वडा नं. २ : सूर्यनारायण पोखरी, गोसाई पोखरी, बरियाती पोखरी, गुरुदयाल पोखरी र महथा पोखरी (५ वटा) ।
– वडा नं. ४ : सिमराहा पोखरी र लखन्तरीको भट्ठी पोखरी (हाल विद्यालयको अधीनमा) ।
– वडा नं. ५ : बविया टोल पोखरी ।
– वडा नं. ६ : महतो टोल पोखरी ।
– वडा नं. ७ : राजा दास पोखरी ।
नोटः वडा नं. ३ मा बाहेक सबै वडामा पोखरी छन् ।)
ठेक्काको हतारो, संरक्षणमा सुस्तता
गाउँपालिकाले पोखरीको दीर्घकालीन संरक्षण र संवद्र्धनमा खासै ठोस काम गरेको देखिँदैन । यद्यपि, आम्दानीको स्रोतका रूपमा पोखरीहरू ठेक्का लगाउन भने गाउँपालिका पछि पर्दैन । पोखरीबाट गाउँपालिकाले ठेक्का लगाएर पैसा त उठाउँछ, तर यसको संरक्षण किन गर्दैन ? भन्ने प्रश्न गाउँलेहरूको छ । यस विषयमा वडा नं. ७ का अध्यक्ष सन्तोष यादव लाचारी व्यक्त गर्दै भन्छन्, ‘सबै पोखरीहरूको ठेक्का गाउँपालिकाले नै लगाउँछ र आम्दानी पनि त्यहीँ जान्छ । हामीले अन्य धार्मिक स्थानहरूको संरक्षण त गरेका छौँ । तर पोखरीहरू धेरैजसो अतिक्रमणमा परेकाले तत्काल केही गर्न सकिएको छैन ।’
अतिक्रमणको खतरा र गाउँपालिकाको आश्वासन
कुनै समय गाउँलेहरू मिलेर सामुदायिक श्रमदानमार्फत पोखरी सफा गर्दथे । तर, आधुनिकतासँगै त्यो सामूहिक भावना हराएको छ । अचेल पोखरीहरूमा माटो थुप्रिँदै गएको छ । झारपातले ढपक्कै ढाकेको छ । पोखरी वरपर फोहोर फाल्ने प्रवृत्ति बढेको छ ।
पोखरी केवल पानी जम्ने ठाउँ मात्र होइनन्, यिनले जलचर तथा चराचुरुङ्गीको वासस्थान जोगाउँछन् । गर्मी मौसममा गाउँको वातावरणलाई शीतल बनाउन र बाढी वा खडेरी जस्ता प्राकृतिक विपद्को जोखिम कम गर्न यिनको ठूलो भूमिका हुन्छ । कृषिप्रधान धनपालथानका गाउँपालिकाका लागि भूमिगत जलस्तर कायम राख्न पनि पोखरीहरूको ‘डिसिल्टिङ’ (गहिराइ बढाउने) र तटबन्ध निर्माण जरुरी भइसकेको छ ।

गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार भने आगामी दिनमा पोखरीको मुहार फेरिने दाबी गर्छन् । ’पालिका भित्रका मठ, मन्दिर, मस्जिद र चर्चको संरक्षण योजना अनुसार नै भइरहेको छ,अध्यक्ष गच्छदारले स्वीकार गरे, ‘पोखरीहरूको हकमा कतिपय अवस्थामा ठेक्काका लागि बोलपत्र आह्वान गर्दा पनि ठेक्का नलाग्ने समस्या भयो । त्यसले गर्दा ध्यान अलि कम पुगेकै हो । तर अब अतिक्रमण हटाएर, विशेष योजना बनाई पोखरीहरूलाई पालिकाको आयआर्जन र पर्यटनको माध्यम बनाउनेछौँ ।’
पुनर्जीवनको पर्खाइ
धनपालथानका यी ऐतिहासिक पोखरीहरू आज मूकदर्शक बनेर आफ्नो अस्तित्वको लडाइँ लडिरहेका छन् । केवल ठेक्का लगाएर माछा मार्ने माध्यम मात्र बनाउनुभन्दा स्थानीय सरकार, समुदाय र सरोकारवाला निकाय मिलेर यसलाई पर्यटकीय र पर्यावरणीय हबका रूपमा विकास गर्नेतर्फ ध्यान दिन जरूरी भइसकेको धनपालथान–२ का वर्ष ५८ को सुर्यदेव मण्डल भन्छन् ।
समयमै पोखरीहरूको नियमित सरसफाइ, वरिवरि वृक्षरोपण र अतिक्रमण नियन्त्रण गर्ने हो भने यिनले धनपालथानको कृषि, वातावरण र अर्थतन्त्रमा कायापलट गर्न सक्छन् । पुर्खाको इतिहास र प्रकृतिको यो उपहारलाई जोगाउनु आजको पुस्ताको सबैभन्दा ठूलो दायित्व हो । अन्यथा, यी पोखरीहरू अतिक्रमणमा परेर भविष्यका पुस्ताका लागि बूढापाकाले सुनाउने एकादेशका कथामा मात्र सीमित हुन बेर छैन ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]