

रामनारायण ठाकुर
मिर्चैया, अषाढ २४ गते । नेपाल सरकार, ग्लोबल फन्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीचको त्रिपक्षीय साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित क्षयरोग (टीबी) परियोजनाअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बडहरामल स्वास्थ्य चौकीमा मंगलबार टीबी च्याम्पियन क्लब गठन गरिएको छ।
समुदायमा क्षयरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, सम्भावित बिरामीको समयमै पहिचानमा सहयोग गर्ने, उपचाररत बिरामीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउने तथा सामाजिक लाञ्छना र विभेद न्यूनीकरण गर्ने उद्देश्यले क्लब गठन गरिएको स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग तथा कुष्ठरोग अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिनुभयो।
बागमती सेवा समाज नेपालका क्षयरोग परियोजनाका कार्यक्रम व्यवस्थापक नथुनी कुमार मण्डलले टीबी च्याम्पियन क्लबले समुदायमा रहेका क्षयरोगसम्बन्धी भ्रम, गलत धारणा तथा सामाजिक लाञ्छना अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरकुमार सदा, बडहरामल स्वास्थ्य चौकी प्रमुख बलरामलाल दास, क्षयरोग फोकल पर्सन नन्दलाल यादव, ओपीडी फोकल पर्सन नवलेन्द्र अधिकारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, टीबी च्याम्पियन, शिक्षक, सञ्चारकर्मी, बागमती सेवा समाज नेपालका कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत यादवले नेपालले सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। स्वास्थ्य चौकी प्रमुख दासले टीबीबाट निको भएका व्यक्तिहरूको अनुभव र नेतृत्वले सामाजिक लाञ्छना न्यूनीकरण तथा नयाँ बिरामीको पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

क्षयरोग फोकल पर्सन नन्दलाल यादव तथा ओपीडी फोकल पर्सन नवलेन्द्र अधिकारीले दुई साताभन्दा बढी लगातार खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने वा राति अत्यधिक पसिना आउनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख सुन्दरकुमार सदाले समुदायमा आधारित यस्ता कार्यक्रमले क्षयरोग नियन्त्रणका साथै समाजमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कार्यक्रम सञ्चालन गरेकोमा बागमती सेवा समाज नेपालप्रति आभार व्यक्त गर्नुभयो ।
नवनिर्मित टीबी च्याम्पियन क्लबका अध्यक्ष धर्मनाथ यादवले समुदायमा क्षयरोगसम्बन्धी सचेतना फैलाउने, लक्षण भएका व्यक्तिलाई समयमै परीक्षणका लागि प्रेरित गर्ने तथा उपचाररत बिरामीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। क्लबकी उपाध्यक्ष गीता सदाले सामाजिक लाञ्छना र विभेद न्यूनीकरणका लागि क्लबका सम्पूर्ण पदाधिकारी सक्रिय रूपमा परिचालन हुने बताउनुभयो ।
बागमती सेवा समाज नेपालका जिल्ला परियोजना संयोजक प्रमित कुमार साहले टीबी च्याम्पियन क्लब समुदाय र स्वास्थ्य संस्थाबीच प्रभावकारी सेतुका रूपमा रही क्षयरोग नियन्त्रण अभियानलाई थप सुदृढ बनाउने बताउनुभयो। आउटरिच वर्कर सुभाष कुमार यादवले समुदायस्तरमा निरन्तर सचेतनामूलक अभियान सञ्चालन गरी क्षयरोगसम्बन्धी भ्रम, विभेद र लाञ्छना अन्त्य गर्न आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका सहभागीहरूले समुदायमा आधारित यस्ता अभियानले क्षयरोग नियन्त्रण तथा सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]