वीरेन्द्र शर्मा
बिराटनगर, बैशाख २७ गते । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासंघ, युरोप शाखा र नेपाल प्रेस इन्टिच्यूटले संयुक्त रुपमा वैशाख २७ गते देखि एक महिने पत्रकारिता तालिम शुरु गरेका छन् ।
जूम प्रविधिबाट शुरु भएको तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलुक बाहिर रहेर पनि नेपाली भाषाको उत्थान र मातृभूमिको विकासको लागि पत्रकारहरुले गरेको योगदान सराहनीय रहेको बताए ।
‘परिस्थितिले विदेशलाई कर्मभूमि बनाउन पुगेका नेपालीका साथ जूमको एकै पृष्ठमा उपस्थित हुनपाउँदा ग्लोबल भिलेजको सही अभ्यास भएको अनुभव गरिरहेको छु’ अध्यक्ष पोखरेलले भन्नुभयो– युरोपका नेपाली पत्रकार र नेपाल प्रेस इन्ष्टिच्यूटले नेपाली पत्रकारिता जगत्को विकासका लागि गरेको योगदान सदा स्मरणीय रहनेछ ।
पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष सरस्वती कार्कीको अध्यक्षता तथा सचिव अनुराधा पौडेलको सञ्चालनमा भएको तालिमको उद्घाटन सत्रमा बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली संघ, युरोपका संयोजक नारायण आचार्य, युरोप शाखाकै उपाध्यक्ष लक्ष्मण देवकोटा, लेखक दर्पण गौतम, नेपाल प्रेस इन्स्टिच्यूटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती र प्रशिक्षक कपिल काफ्लेले सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी पत्रकारिता तालिमको उद्देश्य नेपाली लेखनमा रुचि राख्ने सहभागीहरुलाई आमसञ्चार र पत्रकारिताका विषयमा आधारभूत अवधारणा तथा ज्ञान प्रदान गरी समाचार, फिचर र सिर्जनात्मक आलेख तयार पार्नसक्ने बनाउनु रहेको छ ।
सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवाहरुको सहभागीता रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]