बिराटनगर, असोज ३१ गते । ६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो ।
प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
१ नं. प्रदेश प्रहरी कार्यालयमा असोज ३१ गते आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला लगायतका उपस्थित महानुभावहरुले १ नं. प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले प्रहरी दिवशको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी १ नं. प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै नयाँ भवन निर्माणार्थ आफ्नो अमुल्य जग्गा निःशुल्क प्रदान गर्नु हुने जग्गादाता महानुभावहरुलाई कदर–पत्रले सम्मान गर्नु भएको थियो । यसैगरी वाँहाले उत्कृष्ट कार्य गर्ने प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलालाई नगद पुरस्कार र प्रहरीलाई सहयोग गर्ने संघ संस्था र स्थानीय तहलाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै वहाँले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरीले हरेक नागरीकहरुको मन मस्तिस्कमा रहन सफल भई सकेको हुँदा थप संवेदनशिल भई काम गर्नु मुख्य आवश्यकता रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरु, बिभिन्न बिद्याहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु र उच्च शिक्षा अध्ययन गर्ने बहालवाला, पुर्व प्रहरी तथा अमर प्रहरी परिवारका सन्ततिहरुलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाले छात्रवृती प्रदान गर्नु भएको थियो भने बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले पुरस्कृत गर्नु भएको थियो ।
प्रहरी दिवशको अवसरमा आयोजना भएका बिभिन्न खेलकुदमा पुरस्कृत हुने खेलाडीलाईहरु बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले पुरस्कार बितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आईरहेको नेपाल प्रहरीले आगामी दिनमा थप बिश्वसनियताका साथ काम गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
प्रहरी दिवशको अवसरमा १ नं. प्रदेश प्रहरी श्रीमती संघकी महासचिव अजिता बास्तोलाले अमर प्रहरी परिवारका परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने उक्त कार्यक्रममा निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । साथै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]