विराटनगर, कार्तिक १३ गते । प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईद्धारा नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाउने पवित्र पर्व छठका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त दिएको प्रेश विज्ञप्तीमा उल्लेख छ ।
तिहारको समापनसँगै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर छठपर्व मनाइन्छ । मुख्यगरी षष्ठी तिथिका दिन मनाइने छठपर्व तराईमा मात्र होइन अहिले हिमाल–पहाड सर्वत्र प्रचलित हुन थालेको छ । सद्भाव अनि भ्रातृत्वको प्रतीक यस पर्वका बेला बडो हर्ष–उल्लासका साथ नदी, तालतलैया, पोखरीको किनारामा श्रृङ्गारिएर तयार पारिएका घाटहरूमा केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ दिइन्छ ।
छठका लागि भक्तजनहरूले विभिन्न मनोकांक्षा पूर्ण होस् भनेर भाकल राखेका हुन्छन् । त्यहीअनुरुप छठमा प्रसादी चढाउने चलन चलिआएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ ।
नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो । प्रकृति र सभ्यताको अनुपम उदाहरण छठपर्व समापनका अवसरमा प्रदेश नं. १ सरकारका तर्फबाट थप एक दिन बिदा दिई यस पर्वप्रति सरकारले उच्च सम्मान प्रकट गरेको छ ।
हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दिदीबहिनी, दाजुभाइहरूमा छठपर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । वहांको प्रेस वक्क्तव्यमा उल्लेख छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]