विराटनगर, कार्तिक २५ गते । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले घरघरमै पुगेर ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेका छन ।
वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो । स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकको सुगर, प्रेसर लगायत जाँच गरिएको छ । स्वास्थ्य जाँचबाट समस्या देखिएका ज्येष्ठ नागरिकलाई औषधि समेत निःशुल्क वितरण गरिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो ।
“ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न गाह्रो हुने भएकाले वडाले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको हो,” पोखरेलले भन्नुभयो, “यो अभियानमा वडामा सधैं सञ्चालन गर्ने योजना छ ।”
वडाले टोल–टोलमा स्वास्थ्य स्वयम्सेविका खटाएर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँचलाई तीव्रता दिएको वडाध्यक्षको भनाइ छ ।
घरमै आएर स्वास्थ्य जाँच गरेपछि ज्येष्ठ नागरिक पनि दंग परेका थिए । स्थानीय ८३ वर्षीय भीमबहादुर धितालले वडाले यसअघि कहिल्यै पनि घरमै आएर स्वास्थ्य जाँच नगरेको बताउनुभयो । यसरी घरमै आएर स्वास्थ्य जाँचेर औषधि दिएकोमा अत्यन्तै खुसी लागेको उहाँले बताउनुभयो ।
त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइराला पनि वडाको कार्यप्रति निकै खुसी देखिनु हुन्थ्यो । उहाँले ज्येष्ठ नागरिकलाई माया गर्नेको सधैं उन्नति हुने दाबी गर्नुभयो । अहिले धेरै ज्येष्ठ नागरिकहरु परिवारबाटै अपहेलित भएर बस्नुपरेको छ,” उहाँले थप्नुभयो, “वडा कार्यालयले घरमै आएर स्वास्थ्य जाँच गर्दा साह्रै खुसी लागेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]