विराटनगर, बैशाख ७ गते । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६५ स्थानमा विभिन्न कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ ।
जीवन विकासले हरेक वर्ष बैशाख ७ गते ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाउँदै आएको छ । शुक्रबार लघुवित्तले १६५ स्थानमा विभिन्न कार्यक्रम मार्फत श्रमदान गरी दिवस मनाएको हो ।
जीवन विकास लघुवित्तका ७१ वटा शाखा कार्यालयहरुले विपन्न परिवारको घर निर्माण तथा मर्मतमा सहयोग गरेका थिए ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–४ पीडारीकी गोदी चौधरी, मोरङको धनपालथान गाउँपालिका–६ लोहन्द्रा घाटकी मोनिया कामत र धनपालथान गाउँपालिका–२ की इनरवती ऋषिदेवको घर निर्माणमा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायत विभागिय प्रमुखहरु सहित केन्द्रीय कार्यालयका कर्मचारीहरु खटिएका थिए ।
अन्य स्थानमा शाखा कार्यालयका कर्मचारी, लघुवित्तका सदस्य, थ्रीजिरो क्लव र स्थानीयले घर निर्माण र मर्मतका लागि श्रमदान गरेका थिए ।
शुक्रबार लघुवित्तले १७ स्थानमा वृक्षारोपण, २१ स्थानका स्थानीय बजार र १३ स्थानका मठ मन्दिर सरसफाई गरी डस्टविन वितरण गरेको थियो । ३५ स्थानमा विद्यालय सरसफाई, डस्टविन वितरण तथा हाजिरी जवाफ प्रतियोगिता गरेको थियो । शैक्षिक सामग्री पनि वितरण गरेको थियो ।
तीन स्थानका पार्क तथा कुवा सरसफाई र दुई स्थानमा लघुवित्तको केन्द्र घर मर्मत तथा सरसफाई गरेको थियो । एक स्थानमा स्वास्थ्य शिविर आयोजना गरेको लघुवित्तले एउटा वृद्धा आश्रममा सरसफाई गरी वृक्षारोपण पनि गरेको थियो ।
२०७२ सालमा जीवन विकास लघुवित्तको सदस्य सम्मेलनले श्रमदान गरेर स्वयंसेवक दिवस मनाउने घोषणासहित ७ वैशाखलाई स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि हरेक वर्ष बैशाख ७ मा जीवन विकास स्वयंसेवक दिवस मनाउँदै आएको छ ।
समुदायमा श्रमदानको भावना विकास गर्नका लागि सामाजिक काम गर्दै स्वयंसेवक दिवस मनाउन थालिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । ‘विभिन्न देशबाट नेपालमा भोलेन्टियर आएर श्रमदान गरेको देखेका थियौं, तर नेपालीले त्यति धेरै चासो दिएका थिएनौं’,उनले भने,‘हामीले पनि गर्नुपर्छ भनेर जीवन विकास स्वयंसेवक दिवस घोषणा गरेर मनाउन थाल्यौं ।’
२४ जिल्लामा फैलिएको जीवन विकास लघुवित्तले १६० वटा शाखा कार्यालय मार्फत तीन लाख २५ हजार भन्दा बढी परिवारलाई वित्तीय सेवासँगै विभिन्न सामाजिक अभियानहरु सञ्चालन गरिरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]