विराटनगर, अषाढ ५ गत । मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२–०८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
पालिकाकी उपाध्यक्ष सीता देवी राजवंशीले दोस्रो गाउँसभाको सातौं अधिवेशनमा बिहीबार यो बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा चालु खर्चतर्फ ३९ करोड ३८ लाख २ हजार ५ सय रुपैयाँ र पूंजीगत खर्चतर्फ १९ करोड ५३ लाख ४२ हजार रुपैयाँ छुट्याइएको छ । यो बजेटको मुख्य आय स्रोतहरूमा आन्तरिक आयबाट ९ करोड ८० लाख ७८ हजार ४ सय ८५ रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ३५ करोड ८५ लाख ६ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट १३ करोड २५ लाख ६० हजार १५ रुपैयाँ आउने अनुमान गरिएको छ ।
कटहरी गाउँपालिकाले यो वर्षको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा २ करोड २८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ जुन कृषकहरूको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सामाजिक सुरक्षा र कल्याण क्षेत्रमा ६ करोड ४९ लाख ४५ हजार ५ सय रुपैयाँ छुट्याइएको छ । यो रकमले स्थानीय नागरिकहरूका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
पूर्वाधार क्षेत्रको विकासमा सबैभन्दा बढी १७ करोड ७३ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो रकमले सडक, पुल, भवन निर्माण र अन्य पूर्वाधार विकास कार्यहरूमा प्रयोग हुनेछ ।
वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ३ करोड २८ लाख रुपैयाँ र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन क्षेत्रमा २ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यो बजेटले स्थानीय नागरिकहरूको जीवनयात्रामा सकारात्मक प्रभाव पार्ने र गाउँपालिकाको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको पालिकाकी उपाध्यक्ष राजवंशीले बताइन् । विशेषगरी कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा गरिएको लगानीले स्थानीयवासीहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास लिइएको उनको भनाई छ । उपाध्यक्ष राजवंशीले यो बजेटले जनताका आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्दै तयार गरिएको बताइन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]