विराटनगर, मंसिर २२ गते । विगतका वर्षहरु झै यस वर्ष पनि माेरंङ उद्योग व्यपार संघले अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी पौष ९ गते देखि १९ गते सम्म विराटनगर-१शान्ती चौकमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयाेजना गर्ने भएकाे छ ।
संघकाे सभाहलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष अनुपम राठीले र ‘विराट ट्रेड एक्स्पो २०२५’ काे संयाेजक अमित कुमार सारडाले साे कुराकाे जानकारी गराए ।
काेशी प्रदेशका स्वदेशी उत्पादनहरु सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवर्द्धन एवं विकासमा जोड दिनु‌का साथै यस क्षेत्रका आर्थिक गतिविधिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य लिई समय समयमा यस ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएकाे संघका अध्यक्ष राठीले वताए ।
आर्थिक क्षेत्रको गतिविधिहरुको सम्वर्द्धन एवं विकासका लागि यस संघले विगतमा कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०१८ (२०७५), विराट ट्रेड एक्स्पो २०२२ (२०७८), मोरंग व्यापार संघ एक्स्पो २०२३ आदि भव्यताका साथ आयोजना गरी उदाहरणीय रुपले सफलता हासिल गरेको र यस क्षेत्रको उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरुको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएकाेछ ।जेन्जी आन्दोलनपछि उत्पन्न भएको विद्यमान शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका काेशी प्रदेशका अधिकांश वस्तुहरु सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरु बीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना, काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौं प्रवर्द्धनात्मक कार्यहरु गराउने प्रमुख उद्देश्य सहित एक्स्पो आयाेजना गर्न लागेको संयाेजक सारडाले वताए ।
मोरङ-सुनसरी आर्थिक करिडोरको प्रवर्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने मुख्य उद्देश्यले आयोजना गरिने यस पटकको एक्सपाेमा जर्मन प्रविधिको ह्याङगर, अक्टानम सहितको करिब २३० स्टल रहनेछ ।
नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराउने आयाेजकले अपेक्षा गरेकाेछ ।
एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिनेछ । नयाँ उद्यमीका लागि स्टार्टअप सञ्चालन गर्ने अवसर, साना तथा मध्यम उद्यमका लागि व्यवसाय विस्तारका उपाय, पर्यटन प्रवर्द्धनका रणनीति, आ.ई. सम्बन्धी डिजिटल ज्ञान तथा साइबर सुरक्षा, कर-लेखा सम्बन्धी नयाँ प्रणाली तथा महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिने कार्यक्रमहरू समावेश हुनेछन ।
एक्स्पोमा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय व्याण्ड (कुमा सागर, रकहेड्स, इलिमेन्टस, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य) आदिहरु बाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल आदि राख्नुका साथै मुख्य आकर्षणको रुपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ ।
एक्सपाेमा स्वदेश र छिमेकी मुलुकबाट करिब दुई लाख दर्शकको आगमन हुने आयाेजकले अपेक्षा लिएकाेछ ।
एक्पोमा मुख्य प्रायोजकको रुपमा रमपम तैयारी चाउचाउ र मारुती सिमेन्ट संयुक्त रुपमा रहने छ । एक्सपाेमा करीब २ कराेड ५० लाख अनुमानित खर्च लाग्नेछ । टिकट दर १५० रहनेछ भने स्कुल पाेशाकमा आएका विद्यार्थीलाई निशुल्क प्रवेश हुनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]