
विराटनगर, फागुन १० गते । आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, निष्पक्ष र मर्यादित बनाउन पत्रकारहरूका लागि विराटनगरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
निर्वाचनको समयमा सञ्चारमाध्यमको भूमिका थप जिम्मेवार र संवेदनशील हुने भएकाले पत्रकार आचारसंहिताको पूर्ण पालना आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रममा सञ्चारकर्मीहरूलाई निर्वाचन अवधिमा समाचार संकलन, सम्पादन तथा प्रसारण गर्दा सत्यता, सन्तुलन र विश्वसनीयतालाई प्राथमिकता दिन आग्रह गरिएको थियो। अफवाह, अपुष्ट सूचना र पक्षपातपूर्ण सामग्रीले निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पार्न सक्ने भएकाले त्यस्ता गतिविधिबाट टाढा रहनु पर्ने वताए ।

अभिमुखीकरणमा सहभागी प्रशिक्षक रविराज बरालले निर्वाचन रिपोर्टिङका क्रममा आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाही हुन सक्ने जानकारी गराउँदै सामाजिक सञ्जाल प्रयोग गर्दा पनि जिम्मेवार बन्न सुझाव दिएका थिए। पत्रकारहरूले उम्मेदवार, राजनीतिक दल र मतदातासँग सम्बन्धित समाचार प्रस्तुत गर्दा कुनै पक्षप्रति झुकाव नराखी व्यावसायिक मापदण्डलाई पालना गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा काेशी प्रदेशकाे विभिन्न जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचन अवधिमा आउने चुनौती, दवाव र जोखिमका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।
उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकाे आयाेजनमा केन्द्रीय अध्यक्ष निर्माला शर्माको अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]