रौतहट, चैत २९ गते । रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। मेयर साहको प्रवेशसँगै स्थानीय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।
देवाहीगोनाहीमा आयोजित भव्य कार्यक्रमबीच मेयर साहसहित वडा नं. ४ का अध्यक्ष रामप्रवेश पटेल, वडा नं. ९ का अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरू सामूहिक रूपमा आजपामा प्रवेश गरेका हुन ।
कार्यक्रममा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नवप्रवेशी नेता तथा जनप्रतिनिधिहरूलाई खादा तथा अबिर लगाएर स्वागत गर्दै पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्दै जनताको अपेक्षा अनुसार काम गर्न र वैकल्पिक राजनीतिक शक्तिको रूपमा आजपालाई स्थापित गर्ने प्रतिबद्धता जनाए।
पछिल्लो समय अध्यक्ष साह विभिन्न नगर तथा गाउँस्तरमा सक्रिय रूपमा जनभेटघाट गर्दै आएका छन्। फतुवा विजयपुर, कटहरिया, मौलापुर लगायतका स्थानहरूमा नेता–कार्यकर्तासँग छलफल गर्दै जनताको समस्या र सुझाव संकलन गरी देवाहीगोनाहीमा भेटघाट तथा अन्तरक्रियामा सहभागी भएका थिए।
स्थानीय स्तरमा प्रभावशाली जनप्रतिनिधिहरूको आजपामा प्रवेशसँगै रौतहटको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आउने आकलन गरिएको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]