विराटनगर, बैशाख २४ गते । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस २०८३ को अवसरमा काेशी प्रदेशका ८ जना पत्रकारहरूलाई सम्मानित तथा पुरस्कृत गरेका छन् ।
सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले रेजिना गौतम (ताप्लेजुङ), सिद्धराज राई (धनकुटा), मनोज श्रेष्ठ (सोलुखुम्बु), शेखर रेग्मी (मोरङ), ठालुप्रसाद (विवेक) गौतम (मोरङ), गोपालबहादुर खत्री (सुनसरी), श्यामसुन्दर सुतिहार (मोरङ) र सन्तोष रुचाल (धनकुटा) लाई खादा,माला, अवीर सम्मानपत्र र नगद १ लाख सहित सम्मानित गरेकाे हाे ।


प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई अझ मर्यादित, व्यावसायिक र प्रविधिमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले पत्रकारहरूले सत्यतथ्य समाचार सम्प्रेषणमार्फत समाजमा सकारात्मक चेतना फैलाएको उल्लेख गर्दै सम्मानित पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उक्त अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका अध्यक्ष काेशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री ईन्द्रमणि पराजुलीले लोकतन्त्रको आधार स्वतन्त्र प्रेस भएको उल्लेख गर्दै जिम्मेवार पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताए। उनले पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता विकास तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेकाे वताउदै सम्मानित पत्रकारहरूलाई बधाई तथा शुभकामना दिए ।
प्रदेश सचिव अस्मान तामाङ, नेपाल पत्रकार महासंघ काेशी प्रदेश अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासंघ माेरंग अध्यक्ष सुशीला पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार, नागरिक समाजका प्रतिनिधि, सरकारी अधिकारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]