

विराटनगर, जेठ ६ गते । बेलायतको ‘मास्टरशेफः द प्रोफेशनल्स’बाट अन्तर्राष्ट्रिय पहिचान बनाएका सन्तोष शाहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई विराटनगरमा समेत विस्तार गरेका छन् ।
विराटनगर विमानस्थलबाट करिब डेढ किलोमिटर दूरीमा, कोशी हाइवे क्षेत्रमा रहेको डीडीसी दुधफार्म अगाडि मिथिला थाली सञ्चालनमा ल्याइएको हो ।
मिथिला संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित एउटै छानामुनि दुवै अवधारणा समेटिएको नयाँ आउटलेट सञ्चालनमा ल्याएको सेफ सन्तोष शाहले बताए ।
‘मिथिला संस्कृतिको र परिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले देशका मुख्य शहरहरुमा मिथिला थाली सञ्चालनमा ल्याएको हो । विराटनगरमा हाम्रो पाँचौँ आउटलेट हो ।’ उनले बताए । ‘बाल्यकालदेखि नै यस संस्कृति र खानपानसँग जोडिएको अनुभवलाई अहिले व्यावसायिक रूपमा विस्तार गरिरहेको छु।’ उनले थपे ।
यस आउटलेटमा प्रारम्भिक चरणमा भित्र र बाहिर गरी करिब १०० जनासम्मको सिटिङ व्यवस्था रहेको छ । विस्तारपछि क्षमता बढाएर करिब २५० जनासम्म पुर्याउने योजना रहेको छ । यहाँ सेमिनार, गोष्ठीलगायतका विभिन्न कार्यक्रम गर्नको लागि हलको समेत व्यवस्था गरिएको छ ।
नयाँ आउटलेटमा मिथिला क्षेत्रका परिकारलाई केन्द्रमा राख्दै ‘मिथिला थाली’ मुख्य आकर्षणमा राखिएको छ । यसअन्तर्गत तरुवा, तिलौरी, विरिया, कडिवडि, चोखा, भात, घिउ रोटी, सलादलगायतका परिकार समावेश गरिएको छ ।
त्यसैगरी ‘जनकपुर फिस हाउस’मा माछाका करिब १० प्रकारका परिकार उपलब्ध गरिएको छ । स्पेशल तावा फिस अर्डर गर्दा सानो जनकपुरी मुरी (साँदेको खट्टे) र मुलाको अचारसँगै पस्किने व्यवस्था गरिएको छ । तावा फ्राइ ट्राउट, लोकल तावा झिँगे माछा, क्रिस्पी फ्राइ प्राउन, र तावा फिस सेट जस्ता परिकारहरू पनि जनकपुरको परम्परागत स्वाद र शैलीमा तयार पारिनेछन् । साथै जनकपुरे पान, सातु र जनकपुरे लस्सी पनि उपलब्ध छ ।
मिथिला आर्टमा आधारित रहेर यहाँको सजावट गरिएको छ । भित्र प्रवेश गर्ने गेटदेखि भित्ताहरुमा समेत मिथिला चित्रकलाले सजाइएको छ । मिथिला क्षेत्रका कलाकारहरूले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् । र, ग्राहकले ती कला खरिद गरेर कलाकारलाई आर्थिक सहयोग गर्न सक्नेछन् ।
नयाँ आउटलेटले स्थानीय ग्राहकसँगै भारतीय ग्राहकलाई पनि लक्षित गरेर सञ्चालनमा ल्याएको सेफ शाहले बताएका छन् । मूल्य दर सर्वसाधारणले सहज रूपमा उपभोग गर्न सक्ने स्तरमा राखिने बताएका छन् ।
विराटनगरमा पछिल्लो समय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा तीव्र वृद्धि भइरहेको छ। पाँचतारे होटलदेखि अन्तर्राष्ट्रिय चेनसम्म विस्तार भइरहेका छन् भने केही नयाँ परियोजनाहरू निर्माणाधीन अवस्थामा छन्। यसै परिप्रेक्ष्यमा शहरलाई रेस्टुरेन्ट हबका रूपमा विकास गर्ने सम्भावना देखिएको सेफ शाहको भनाइ छ।
सेफ शाह पछिल्लो समय अमेरिका, युरोप, न्युजिल्यान्ड, अष्ट्रेलिया र जापानसम्म नेपाली रैथाने परिकारको पप–अप शो गर्दै आएका छन् । ती कार्यक्रममा उनले विभिन्न समुदायका करिब डेढ दर्जन मौलिक परिकार प्रस्तुत गर्ने गरेका छन्, जसको अन्तर्राष्ट्रिय माग बढ्दो छ ।
स्वदेशमा भने उनले ‘मिथिला थाली’ ब्रान्ड विस्तारमा जोड दिएका छन्। जनकपुरमा सुरु गरिएको ‘मिथिला थाली’ पछि काठमाडौंको झम्सिखेल, नक्सालको गैरीधारा र गौशालामा पनि आउटलेट विस्तार भइसकेका छन्।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]