विराटनगर, अषाढ २४ गते । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाका सभापति सुकदेव प्रसाद मण्डलले पत्रकार सम्मेलन गरी प्रादेशिक रक्तसञ्चार सेवा निरन्तर सञ्चालनका लागि सबै सरोकारवालाको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्।
सभापति मण्डलले जारी गरेको अपिलमा “मानवताको सेवामा हातेमालो गरौं” र “रक्तसञ्चार सेवा मानवताको सर्वोत्तम सेवा, जीवन बचाउने अभियानमा सबैको ऐक्यबद्धता” भन्ने सन्देशसहित देवकोटा चौकस्थित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट सेवा निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ।
उनका अनुसार रगतको कुनै कृत्रिम विकल्प छैन। दुर्घटना, सुत्केरी, जटिल शल्यक्रिया, क्यान्सर, थालासेमिया, रक्तअल्पता लगायतका गम्भीर बिरामीको उपचारमा रगत अपरिहार्य हुने भएकाले समयमै सुरक्षित र गुणस्तरीय रगत उपलब्ध गराउनु अत्यन्त आवश्यक छ।
नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा वि.सं. २०२८ सालमा कोशी अस्पतालको आग्रहमा अस्पताल परिसरको सानो कोठाबाट तत्कालीन रेडक्रस सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाले शुभारम्भ गरेका थिए। त्यसयता सेवा निरन्तर विस्तार हुँदै आएको रेडक्रसले जनाएको छ।
रेडक्रसका अनुसार हाल दैनिक १०० भन्दा बढी बिरामीले यस सेवाबाट लाभ लिइरहेका छन्। हाल सञ्चालन भइरहेको देवकोटा चौकस्थित भवन समाजसेवी स्वर्गीय चाँदमल राठीको सहयोगमा निर्माण भई रक्तसञ्चार सेवाका लागि हस्तान्तरण गरिएको थियो। मालपोत कार्यालय र नापी कार्यालयका अभिलेखमा समेत उक्त जग्गा र भवन रेडक्रससँग सम्बन्धित रहेको दाबी गरिएको छ।
रेडक्रसका अनुसार कोशी अस्पतालले २०८३ असार ५ गते १५ दिने र असार २२ गते ७ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न पत्राचार गरेको छ।
देवकोटा चौकस्थित केन्द्रबाट सेवा बन्द भएमा रगत आवश्यक पर्ने बिरामीलाई तत्काल सेवा उपलब्ध गराउन कठिन हुने र यसले धेरैको जीवन जोखिममा पर्न सक्ने रेडक्रसको भनाइ छ।
यस परिस्थितिमा हाल सञ्चालन भइरहेको स्थानबाटै रक्तसञ्चार सेवा निरन्तर सञ्चालन गर्न जिल्ला तथा नगरवासी, नागरिक समाज, सञ्चारकर्मी, रक्तदाता, सहयोगी संस्था तथा सबै सरोकारवालालाई साथ र सहयोग गर्न रेडक्रसले हार्दिक अपिल गरेको छ।
नेपाल रेडक्रस सोसाइटी परोपकारी, सेवामुखी तथा गैरनाफामूलक संस्था भएकाले सरकार वा अन्य संस्थाबाट नियमित आर्थिक सहयोग नपाउने जनाएको छ। रक्तसञ्चार सेवा सञ्चालनसँगै खाली रहेका केही सटर तथा कोठाबाट प्राप्त आम्दानीमार्फत क्यान्सरका बिरामीलाई सेवा शुल्कमा ५० प्रतिशत छुट, रक्तदाताका लागि रिफ्रेसमेन्ट, उपकरण तथा भवनको बीमा, रक्तदान सचेतना तथा सेवा गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिँदै आएको रेडक्रसले जनाएको छ।
सभापति मण्डलले आगामी दिनमा रक्तसञ्चार सेवालाई अझ आधुनिक, गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाउन नेपाल सरकार, सरकारी तथा गैरसरकारी निकाय, दातृसंस्था, सहयोगी र आम नागरिकको निरन्तर साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै “जय मानवता, जय रेडक्रस” भन्ने सन्देशसमेत दिएका छन्।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]