
जनकपुरधाम, मंसिर ९ गते । मधेश प्रदेशको जनकपुरधाममा राम सिताको भव्यतका साथ विवाह हुँदै छ । “आजु मिथिला नगरिया निहाल सखिया, चारों दुलहा में बड़का कमाल सखिया” लागायतको लोकभाकाको गीतहरुले जनकपुर क्षेत्र गुन्जमान भएको छ । विवाहपञ्चमी अवधीभर यस्ता संगीतले जनकपुरका वरिपरि संगितमै हुने गर्दछ । सप्ताहव्यापीरूपमा रुपमा मनाउने विवाहपञ्चमी महोत्सवको मुख्य दिन जानकी मन्दिरमा रामसीताको विवाह हुँदैछ ।
त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाइन्छ । साधुसन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गर्ने परम्परा रहेको छ
ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुबै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयम्भरपछि जानकी मन्दिरमा विवाह हुनेछ ।
जनकपुरधाममा सप्ताहव्यापीरूपमा विवाह पञ्चमी मनाउने गर्दछन् । जसमो मटकोर, तिलकोत्सव, नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ गरिन्छ ।
नेपालकी राजकुमारी सीता र भारतको अयोध्याका राजकुमार राम बीच त्रेता युगमा भएको उक्त विवाह नेपाल–भारतबीचको सांस्कृतिक सेतुको पर्याय बनेको छ । त्यती बेला देखि नै नेपाल र भारत बीच रोटी बेटीको सम्बन्ध रहेको अथ्र्याइन्छ । यस सम्बन्धको साक्षी बन्न प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा सहभागी हुन लाखौं भारतीय तथा तेश्रो मुलुकमा पर्यटक जनकपुर आउने गरेका छन् ।
राम सीताको विवाहको अवसरमा आउने पाहुनाहरूको स्वागत सत्कारका लागि सम्पूर्ण जनकपुरवासीहरू निकै खटेका गर्दछ । ‘पाँच सय वर्ष पुरानो परम्परालाई निरन्तरता दिदै आएका छन् । पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन । अयोध्याबाट अनौपचारिक रूपमा आउनेहरूलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे ।
२०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन परम्परा थालिएको थियो । अयोध्याबाट जन्ती ल्याउनका लागि दुई देशका सरकार र तत्कालीन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेको थियो । पहिलो पटक चार–पाँच सय जन्ती गाडीमा आएका थिए । रामायणमा जुन बाटोबाट जन्ती आएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुर जन्ती आएका थिए । त्यसयता हरेक पाँच वर्षमा औपचारिक रूपमा जन्ती ल्याउने गरिएको छ ।
विवाहपञ्चमीको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि बिदा दिने निर्णय गरेका छन् ।
साता व्यापी यस महोत्सव
पहिलो दिन नगर दर्शन : त्रेता युगमा भगवान् राम आफ्ना भाइहरूका साथ जनकपुर आउँदा नगर क्षेत्रको अवलोकन गरेका थिए । रामायणमा उल्लेखित सोही क्षणहरूको स्मरण गर्दै विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन झाँकीको आयोजना गर्ने गरिन्छ । जसमा राम, लक्ष्मण र उनका भाइहरूको प्रतीकस्वरूप स–साना बालबालिकालाई सजाएर नगरमा घुमाउने गरिन्छ ।
महोत्सवको दोस्रो दिन : भगवान् राम जनकपुरमा घुम्ने क्रममा पुष्प वाटिकामा छिरेका थिए, जहाँ सीता पनि आफ्नी बहिनी र साथीहरूसँग घुम्न निस्केकी थिइन् । राम र सीताको पहिलो भेट सोही वाटिकामा भएको स्मरणमा फूलबारी लीला मनाउने गरिन्छ ।
महोत्सवको तेस्रो दिन : सीताको विवाहका लागि बुवा जनकले सर्त राखेका थिए । उनले भगवान् शिवको धनुष जसले उचालेर त्यसमा प्रत्यन्चा चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गरिदिने सर्त राखेका थिए । उक्त सर्तसहित जनकले धनुष यज्ञको आयोजना गरे । सो यज्ञमा ठूलठूला पराक्रमी राजा, महाराजा र वीर पुरुषहरू सहभागी भए । तर, कसैले पनि जनकको सर्त पूरा गर्न सकेनन् ।
शिवको धनुष उचाल्न त परै जाओस्, हल्लाउन पनि सकेनन् । तर, रामले भने सहजै धनुषलाई उचाले र भाँचिदिए । जनकको सर्त पूरा गरेपछि सीताको पतिका रूपमा चुनिए राम । सोही प्रसंगलाई जीवन्त बनाउन धनुष यज्ञको आयोजना गर्ने गरिन्छ ।
महोत्सवको चौथो दिन तिलकोत्सव : रामले स्वयंम्बरको सर्त पूरा गरेपछि राजा जनक र अयोध्याका राजा दशरथबीच छोराछोरीको विवाहको मिति तय गर्न भेटघाट गरिन्छ । जसलाई तिलकोत्सव समारोह भनिन्छ ।
यस समारोहमा सीताको अभिभावकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र रामको अभिभावकको रूपमा राम मन्दिरका महन्थ राम गिरीको सहभागिता भव्य समारोहबीच हुन्छ । तिलकोत्सव कार्यक्रमका लागि जानकी मन्दिरबाट राम मन्दिरमा थरीथरीका मिठाई, फलफूल र कोसेलीहरू (भार) पठाउने चलन छ । तिलकोत्सव कार्यक्रममै सम्धी भेटघाट हुने गर्छ । यो कार्यक्रमलाई स्थानीय युवा क्लबहरूले विशेष रूपमा आयोजन गरी भव्य बनाउने गर्छन् ।
महोत्सवको पाँचौं दिन मटकोर : पवित्र गंगासागर पोखरीबाट माटो खनेर ल्याएपछि सोही माटोले विवाहको मडवा (मण्डप) लिप्ने विधिलाई मटकोर भनिन्छ । मटकोर कार्यक्रम गर्न जानकी मन्दिरबाट सीताको सवारी निस्केपछि त्यसलाई लाखौं श्रद्धालुहरूले गीत गाउँदै र नृत्य गर्दै आशीर्वाद दिने गर्छन् ।
महोेत्सवको छैटौं : जानकी मन्दिरबाट निस्कने माता सीताको डोली र राममन्दिरबाट निस्कने भगवान् रामको डोली ऐतिहासिक बा¥ह बिघा मैदानमा परिक्रमा गराएर लाखौं श्रद्धालुहरू र अयोध्याबाट आएका साधुसन्तको जन्तीको अगाडि स्वयम्बर गराइन्छ । स्वयम्बरपश्चात् डोलीहरू मन्दिर फर्किन्छन् र साँझबाट जानकी मन्दिरको परिसरमा बनाइएको भव्य मडवामा वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।
महोत्सवको सातौ अर्थात अन्तिम दिन : रामकलेवामा अयोध्याबाट विवाहमा सहभागी हुन आएका साधुसन्तहरू र सहभागी सबै श्रद्धालुहरूलाई जानकी मन्दिरको तर्फबाट भोजको आयोजना गरिन्छ । भोजपछि साधुसन्तलाई कोसेली दिँदै बिदाइ गरी विवाहपञ्चमी सम्पन्न हुन्छ ।
जनकपुरधामको इतिहास
विवाह पञ्चमीको सुरुआत कहिलेदेखि भयो भने यकिन साथ भन्न नसकिएपनि आधुनिक जनकपुरधामको निर्माणसँगै रामनवमी तथा विवाह पञ्चमी जस्ता मेला, उत्सवहरूको सुरुवात भएको जनविश्वास रहेको छ ।
भनिन्छ, सत्रौँ शताब्दीको अन्त्यसम्म मिथिला वा जनकपुर गुमनाम नै थियो । ‘द हिस्ट्री अफ जनकपुरधाम’ किताबमा मानवशास्त्री रिचर्ड बरघर्टले यस बिचको समयलाई जनकपुर हराएको समय अर्थात् जनकपुरको ‘अन्धकार युग’ भनेर उल्लेख गरेका छन् ।
सन् १९७० भन्दा करिब तीन सय वर्षअगाडिको जनकपुरको इतिहासबारे उनले चर्चा गरेका छन् । सोह्रौँ–सत्रौँ शताब्दीतिर गङ्गा किनारमा रामको पूजा र भक्ति चारैतिर फैलिएको थियो । त्यही बेला रामानन्दीसाधुहरू त्रेतायुगको मिथिला सहर कहाँ छ भनेर खोज्दै हिँडेका थिए ।
भारतको बद्रीनाथबाट चतुर्भुज गिरी नामका साधु मिथिला खोज्दै अहिलेको जनकपुर आइपुगे । सपनामा उनले भगवान् रामलाई देखे । रामले भने, “तिमी जुन रूखमुनि सुतेका छौ, त्यही ठाउँमा पुरानो जनकपुर छ, जुन विदेहहरूको राजधानी थियो ।” यतिबेलै अर्का साधु सुरकिशोर दास पनि उत्तरी मिथिला आइपुगे ।
चतुर्भुज दसनामी सम्प्रदायका थिए भने सुरकिशोर रामानन्दी सम्प्रदायका । उनि पश्चिम भारतको लोहागढ शिखरमा बस्थे । जनकपुरको खोजीमा हिँडेका उनी एकदिन नीमको रुखमा आराम गरिरहेका बेला सीताको मूर्ति त्यहीँ ठाउँमा देखे । सीताको जुन जन्मभूमिको खोजीमा निस्केका उनी यहीँ ठाउँ नै सीताको जनकपुर हो भने सम्झे ।
जानकी मन्दिर स्थापित गर्ने श्रेय भने सत्रौँ शताब्दीका सन्त सुरकिशोर दासलाई दिइने गरिन्छ । भारतको टिकमगढ राज्यकी रानी वृषभानु कुँवरले १९१० सालमा नौलक्खा मन्दिर बनाएकी थिइन् । मुगल शैलीको यो मन्दिर बनाउन ९ लाख खर्च लागेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]