विराटनगर, फाल्गुन ३ गते । नेकपा एमाले विराटनगर महानगरपालिका संगठन कमिटीको जरा केन्द्रित अभियानकाे एमालेका महासचिव शंकर पोखरेलले समुद्घाटन गरेका छन ।
महानगरपालिका कमिटीको जरा केन्द्रित अभियान तथा प्रशिक्षण कार्यक्रमकाे समुद्घाटन गर्दै महासचिव पोखरेलले संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता संचालनमा स्थायित्व खोज्ने आधारमा गठबन्धन भएको बताएका छन । पोखरेलले साना दलहरुले संसदमा रहेको आफ्नो सिमित संख्यालाई जादुयी संख्या भन्दै ठूला दलहरुलाई नियन्त्रण गर्ने अस्थिर र भद्दा राजनीतिको अन्त्य गर्न समेत गठबन्धनको निर्माण भएको धारणा व्यक्त गरेका थिए।
उहाँले गठबन्धन तत्कालिन उदेश्य प्राप्तिको लागि भएकोले गठबन्धनले पार्टीको दिर्घकालिन लक्ष्यमा फरक नपार्ने बताएका छन ।
प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले पार्टीले संगठनमा सुधार ल्याउनका निम्ति देशव्यापी रुपमा जरा केन्द्रित अभियान संचालन गरेको जानकारी गराए ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अहिलेको समयमा पार्टीको जनताको बहुदलीय जनवाद ( जबज ) दर्शनले आफ्नो सान्दर्भिकता र देशको राजनीतिक सिद्धान्त मध्ये अब्बल भएको प्रमाणित गरेको धारणा व्यक्त गरेका थिए । खतिवडाले जरा केन्द्रित अभियान मार्फत पार्टी प्रदेशको १ हजार भन्दा बढी वडा र १० हजार बढी टोलहरुमा पुग्ने जानकारी गराए ।
एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले कोशी प्रदेशको एक मात्र महानगरपालिकाको कमिटीले गर्ने कार्यक्रम र अभियानहरु प्रदेशका अन्य पालिकाका लागि उदाहरण बन्नु पर्ने बताए । बस्नेतले अभियान मार्फत पार्टीको नीति , सिद्धान्त र पार्टीका सरकारमा रहेका उपलब्धीहरु जनतामा लिएर जाने प्रष्ट पारेका थिए ।
महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले जरा केन्द्रित अभियान मार्फत वडा र टोल कमिटीमा जाँदै गर्दा विराटनगरको विकास खाका निर्माण गरेर पार्टीले मिसन ८४ अन्तर्गत विराटनगर महानगरपालिकाको प्रमुख सहितको पद जित्ने तयारीमा लाग्ने बताए।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]